नुवाकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी, अन्तरक्रिया र छलफल सम्पन्न



नुवाकोट, मंसिर २३ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नुवाकोटमा आज प्रभातफेरीसहित अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ। “UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS” तथा “प्रविधिको सहि प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ सुरू गरिएको अभियानमा प्रविधि सुरक्षित प्रयोग र लैङ्गिक हिंसा रहित समाज निर्माणमा सामूहिक प्रतिवद्धता व्यक्त गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी नुवाकोट समितिका अध्यक्ष उत्सव अर्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गा राज रेग्मी, ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकाल, स्थानीय तहमाथि प्रतिनिधि, पृथ्वी माध्यमिक विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी, साथै प्रहरी कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम बिहान १० बजे लोकतान्त्रिक चोकबाट सुरू भई जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा पुगेपछि अन्तरक्रिया तथा छलफलसँगै सम्पन्न भएको हो। अभियान अन्तर्गत सहभागीहरूले डिजिटल माध्यमबाट बढ्दै गएको हिंसालाई रोक्न सचेतना, सुरक्षित प्रविधि प्रयोग र कानुनी जानकारीका महत्वपूर्ण पक्षहरूमा ध्यानाकर्षण गराएका थिए।

१६ दिने अभियान मंसिर ९ देखि २४ गतेसम्म (Nov 25–Dec 10) देशभर सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्