धादिङमा सुन्तला उत्पादन घट्दै, मुल्य बढ्दै
धादिङ,मंसिर २३ । सुन्तला खेती गरिएको जमिनमा उचित सिंचाई सुविधा नभएको र समयमा वर्षा समेत नभएका कारण धादिङमा यस वर्ष सुन्तलाको उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका अनुसार गत सालको तुलनामा यस वर्ष १५ देखि बीस प्रतिशतको हाराहारीमा सुन्ताल उत्पादन घट्ने अनुमान गरिएको छ । यसो त सुन्तला खेती गरेको तल्लो भेकमा सुन्तलामा देखा पर्दै गएको बोट मर्ने रोगका कारण पनि सुन्तला खेतीमा निकै ठुलो नोक्सानी पुगेकोले उत्पादन घटेको हो ।
यस वर्ष धादिङमा उत्पादन भएको सुन्तलाले धादिङको बजार पनि धान्न नसक्ने किसानहरुको भनाइ छ । सुन्तलाको उत्पादन यस वर्ष गत वर्षको तुलनामा घटे पछि उत्पादित सुन्तलाले माग अनुसार बजार धान्न नसक्ने भएको हो ।
सुन्तलाको माग बजारमा निकै भएको तर उत्पादन कम हुँदा यस वर्ष अन्य जिल्लाबाट धादिङमा सुन्तला खरिदका लागि आएका ब्यापारीहरुले पनि महङ्गोमा सुन्तला किन्न बाध्य भएका छन् ।
मंसिर महिना सबै किसानहरुले सुन्तल टिप्ने सिजन भएकोले मुल्य समेत निकै कम हुने महिना हो ।
गत साल प्रतिकिलो साठी रुपैँयामा बगैचाबाट विक्री भएको सुन्तला यस वर्ष ८० देखि ८५ रुपैयाँमा बेच्न थालिएको किसानहरु बताउँछन ।
हरेक वर्ष सुन्तला खेतीमा देखा परेको रोगका कारण सुन्तालको बोट पनि मासिँदै जान थालेको छ ।
विषेसगरी धादिङको जवाङ्ग,सलाङ्ग र नलाङ्गमा सुन्तला खेती ब्यवसायीक रुपमा गरिएको छ । जिल्लामा उत्पादन भएको सुन्तालाको धादिङको सदरमुकाम मुख्य बजार संघीय राजधानी काठमाण्डौँ र चितवन अनि पोखरा हुन्।

