तिनपिप्ले–रानिपवौवा सडकमा तीव्र कार्यप्रगति, पूर्व अर्थमन्त्री डा. महतद्वारा अनुगमन
नुवाकोट, मंसिर २३। पासाङल्हामु मार्गअन्तर्गत पर्ने तिनपिप्ले–रानिपवौवा सडक खण्डको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको अवस्थामा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार स्थलमै पुगेर अनुगमन तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन्।
अनुगमनका क्रममा डा. महतले सडकको भौतिक प्रगति, निर्माणका चुनौती तथा आवश्यक सुधारका विषयमा प्रत्यक्ष जानकारी लिंदै स्थानीय बासिन्दासँग सुझाव–सल्लाह आदानप्रदान गरेका थिए। स्थानीयहरूले सडक निर्माणमा देखिएका ढिलाइ, गुणस्तरसम्बन्धी चुनौती र आवागमन सहजताका विषयमा आफ्ना गुनासा राखेका थिए। स्थानीयको बुझाइ सुनेपछि डा. महतले सडक पूर्वाधार सुधारलाई प्राथमिकताका साथ अघि बढाइने तथा नियमित अनुगमन र समन्वयमार्फत कार्यप्रगति अझै प्रभावकारी बनाइने आश्वासन दिए।
सडक डिभिजन नुवाकोटका इन्जिनियर अमृतप्रसाद यादवका अनुसार १४ किलोमिटर लम्बाइको तिनपिप्ले–रानिपवौवा सडकमध्ये हालसम्म ४ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ। नजिकै एग्रिगेट बेस उपलब्ध नहुँदा पनौतीबाट सामग्री ल्याउनु पर्ने भएकाले काममा केही समय लागेको उनले बताए।
उनका अनुसार चिसो मौसमका कारण तापक्रम कम हुने ठाउँहरूमा कालोपत्रे गर्न कठिनाइ हुने भएकाले तापक्रम कम भएका क्षेत्र छोडेर अन्य भू–भागमा क्रमशः कालोपत्रे भइरहेको छ। “कालोपत्रे गर्न कम्तीमा १५/१६ डिग्री तापक्रम आवश्यक पर्छ,” इन्जिनियर यादवले साझापथसंग भने । पुस–माघमा अत्यधिक चिसो बढेमा अस्थायी रूपमा कालोपत्रे रोकिनेछ।
१२ वर्षदेखि अधुरो रहेको यो सडक पछिल्लो २० महिनादेखि गतिका साथ निर्माण भइरहेको उनले जानकारी दिए। हालसम्म झण्डै ७५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ।
सडक निर्माणको जिम्मा लिएको मोतीदाम कन्स्ट्रक्सनले कामलाई तीव्रता दिएको र २०८३ साल वैशाख मसान्तसम्म सरकारलाई सम्पूर्ण सडक हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ। कालोपत्रेका लागि कुल लागत ३८ करोड अनुमान गरिए पनि सुरुआती चरणमा ६ करोड बराबरको काम पूरा भइसकेको तथा त्यसपछि १५ करोड उपलब्ध गराएको इन्जिनियर यादवले बताए।
आवश्यक बजेट रकमान्तर समयमै हुन सके बाँकी कालोपत्रे कार्य निर्धारित समयमै सम्पन्न हुने निर्माण कम्पनीको भनाइ छ।

