भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न



लुम्बिनी, मंसिर २३ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारत–नेपाल सांस्कृतिक महोत्सव–२०२४ (तेस्रो संस्करण) भव्य रूपमा सम्पन्न गरेको छ। बौद्ध धर्म, साझा सांस्कृतिक धरोहर र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सवमा दुवै देशका उच्च अधिकारी, कलाकार तथा बौद्ध विद्वानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरू, वरिष्ठ भिक्षुहरू, शिक्षाविद्हरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उत्साहपूर्ण उपस्थिति थियो। दुवै देशका चर्चित कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले महोत्सवलाई झनै रमाइलो बनाएको थियो।

श्री सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा भारतबाट आएको छ सदस्यीय आइसिसीआर टोलीले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध बने। त्यस्तै, नेपाली ‘घुगु मुगु’ सांगीतिक समूहले परम्परागत धुन प्रस्तुत गरी सांस्कृतिक आदानप्रदानलाई अझै प्रगाढ बनायो।

महोत्सवको मुख्य आकर्षणमध्ये एक, लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित ‘इन्डिया–नेपाल बौद्ध हेरिटेज : ए कमन लेगेसी’ शीर्षकको शैक्षिक गोष्ठी रहेको थियो। भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरूले बौद्ध सम्पदाको संरक्षण, महत्व तथा दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढीकरणका विषयमा आफ्ना गहन विचार प्रस्तुत गरेका थिए।

भारत–नेपाल सांस्कृतिक महोत्सवले दुबै मुलुकबीचको सांस्कृतिक, धार्मिक र जनता–जनताबीचको सम्बन्धलाई थप मजबुत बनाएको आयोजक संस्थाहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्