सुदूरपश्चिम रोयल्स दोस्रोपटक लगातार एनपिएलको फाइनलमा



काठमाडौँ, मङ्सिर २३ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार दोस्रो वर्ष फाइनल यात्रा सुनिश्चित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। टिमका ओपनर विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ५२ बलमा ६३ रन जोडे, जसमा तीन चौका र दुई छक्का समावेश थिए। यस्तै शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे भने हरमित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तार अहमदले १० रन थपे।

जवाफमा १५६ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्स १४ ओभर १ बलमै ७८ रनमा समेटियो। विराटनगरका लागि फाफ डु प्लेसिसले ३६ रन बनाए पनि अन्य ब्याटरहरू सुदूरपश्चिमको कडा बलिङ अगाडि टिक्न सकेनन्। मर्चेन्ट डे लाङ्गेले १५ रन र बसिर अहमदले १२ रन जोड्नु बाहेक कुनै उल्लेख्य योगदान आएन। सुदूरपश्चिमका स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले समान दुई–दुइ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट लिए।

विराटनगरका प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गेले दुई–दुइ विकेट झारे, तर सन्दीप लामिछाने विकेटविहीन रहे। टस जितेर पहिले फिल्डिङ रोजेका कप्तान सन्दीपको निर्णय अन्ततः विराटनगरका लागि महँगो सावित भयो।

पहिलो क्वालिफायर हारेको विराटनगरले अब एलिमिनेटरको विजेतासँग दोस्रो मौका पाउने छ। बुधबार एलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम यसपटक पनि उपाधि नजिक पुगेको छ र फाइनलमा खिताब जित्ने लक्ष्यसहित उत्रनेछ।

प्रतिक्रिया दिनुहोस्