बेलकोटगढीमा एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टुमाइज्ड तालिम सम्पन्न
नुवाकोट,मंसिर २४ । बेलकोटगढी नगरपालिका, रुम टु रिड र रुडेक नेपालको समन्वय तथा सहकार्यमा संचालित एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टुमाइज्ड तालिम मंगलबार सम्पन्न भएको छ। तालिममा नगरअन्तर्गतका विभिन्न विद्यालयबाट ५० जना शिक्षकहरूको सहभागिता रहेको थियो।
तालिममा सहभागी शिक्षकहरूले प्रारम्भिक कक्षामा प्रभावकारी शिक्षण–सिकाइका विधि, सिकाइ मूल्याङ्कनका अग्रगामी उपाय, र एकीकृत पाठ्यक्रमको व्यवहारिक पक्षबारे विस्तृत रूपमा अध्ययन–अभ्यास गरेका थिए। कार्यक्रमले स्थानीय तहमा गुणस्तरीय शिक्षण वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
रुम टु रिडका प्रशिक्षक सन्तोष खनालले तालिमको सहजीकरण गर्दै एकीकृत पाठ्यक्रमले कक्षाकोठामा सिर्जनात्मकता, सहभागिता र सिकाइ परिणाममा ल्याउने परिवर्तनबारे व्यावहारिक ढंगले मार्गदर्शन गरेका थिए। तालिमले शिक्षकहरूलाई नयाँ शैक्षिक प्रविधि र पद्धतिका प्रभावकारी उपयोगतर्फ उन्मुख गराएको सहभागीहरूकै प्रतिक्रियाले जनाएको छ।
तालिम सम्पन्न गर्दै आयोजक संस्थाहरूले सहभागी शिक्षक र रोष्टर प्रशिक्षकहरूलाई धन्यवाद व्यक्त गर्दै प्रारम्भिक कक्षामा सिकाइ सुधारका लागि निरन्तर सहयोग र समन्वय जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

