लिखु गाउँपालिकामा तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि
नुवाकोट, मंसिर २४ । लिखु गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गर्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयबीच विभिन्न खेलकुद तथा शैक्षिक प्रतिस्पर्धा आयोजना गरिनेछ।
शिक्षा शाखाद्वारा मंगलबार जारी सूचनाअनुसार प्रतियोगिता लिखु–३ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा हुने छ। आइतबार दिउँसो १ बजे एक विशेष समारोहका बीच प्रतियोगिताको समापन गरिनेछ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउँपालिकाले विद्यार्थीको प्रतिभा पहिचान, नेतृत्व विकास, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि तथा विद्यालयबीचको सहकार्य मजबुत बनाउने महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ। प्रतियोगितामा लिखुका १३ सामुदायिक विद्यालयका विद्यार्थीहरूले आधारभूतदेखि माध्यमिक तहसम्मका अनेक खेलकुद तथा शैक्षिक गतिविधिमा आफ्नो दक्षता प्रदर्शन गर्नेछन्।
प्रतियोगितामार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, खेल–भावना र समूहमा काम गर्ने सीप अभिवृद्धि हुने अपेक्षा गरिएको शिक्षा शाखाका बबिन श्रेष्ठले बताए ।

