काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनी लायन्स दोश्रो क्वालिफायरमा



काठमाडौं,मंसिर २४ । नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ  ।

जितका लागि काठमाण्डौँले दिएको ११२ रनको लक्ष्य ६ विकेटको क्षतिमा १४ बल बाँकी रहँदै लुम्बिनीले पुरा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो ।

काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् । त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८/१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए ।

यता काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे ।

लुम्बिनीले भोलि विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्