सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारोन्मुख : शिक्षा प्रमुख रावत
नुवाकोट, मंसिर २४ । लिखु गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शेर सिंह रावतले सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर पछिल्लो समय उल्लेखनीय रूपमा सुधारोन्मुख रहेको बताएका छन्।
बुधबार लिखु–६ भट्टथोकस्थित सिद्धि गणेश आधारभूत विद्यालयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै शिक्षा प्रमुख रावतले सामुदायिक विद्यालयप्रति जनताको विश्वास बढ्दै गएको उल्लेख गरे।
उनले भने, “अहिले निजी विद्यालयबाट सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित हुन थालेका छन्, जसले अभिभावकको सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण परिवर्तन भएको स्पष्ट देखिन्छ।”
रावतका अनुसार शैक्षिक सुधारमा विद्यालय, अभिभावक, शिक्षक र जनप्रतिनिधि सबैको साझा भूमिकाको आवश्यकता रहेको छ। सामुदायिक विद्यालयलाई परिवर्तनको केन्द्र बनाउँदै अघि बढ्न सबैजना क्रियाशील हुनुपर्ने उनको भनाइ छ।
कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, कालिकादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेल, जनप्रतिनिधि, अभिभावक तथा विद्यार्थीको उत्साहजनक उपस्थिति थियो।

