एनपिएल : लुम्बिनी लायन्स र विराटनगर किङ्सको ‘डु–अर–डाई’ भिडन्त
काठमाडौं,मंसिर २५ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स आमनेसामने हुँदै छन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायरमार्फत फाइनल यात्रा जीवित राख्ने अवसर पाएको हो।
उता, इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। लिग चरणमै लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरिसकेको पृष्ठभूमि आजको खेललाई थप रोचक बनाएको छ।
फाइनल प्रवेशका लागि दुवै टोली ‘जस–को–तस’ लड्न तयारी अवस्थामा छन्। आज विजयी हुने टोली मङ्सिर २७ गते हुने उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

