सिन्धुपाल्चोक ज्यामिरेका बालबालिकाको सीप–शिक्षा : विद्यालयमै डोको–चकटी बुनेर आम्दानी



सिन्धुपाल्चोक,मंसिर २५ । मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्रा अब किताबसँगै जीवनोपयोगी सीप पनि सिक्दै आम्दानी लिन थालेका छन्। कक्षा १ देखि ८ सम्मका १०८ विद्यार्थी रहेको विद्यालयले ‘बुक फ्री फ्राइडे’ कार्यक्रममार्फत प्रत्येक शुक्रबार व्यावहारिक शिक्षा सञ्चालन गर्न थालेपछि बालबालिकामा उत्साह बढेको छ।

प्रधानाध्यापक भरतकुमार मल्लका अनुसार स्थानीय प्रशिक्षकको सहयोगमा विद्यार्थीलाई निगालोबाट डोको र मकैको खोस्टाबाट चकटी बुन्न सिकाइँदै आएको छ। स्थानीय सामग्रीमै आधारित सीप सिकाइले विद्यार्थीमा आत्मविश्वास र उपयोगी सीप दुवै विकास भइरहेको मल्लले बताउनुभयो।

शुक्रबार पुस्तकमुक्त शिक्षण लागू भएपछि विद्यार्थीले डोको–चकटीसँगै करेसाबारीमा तरकारी खेती, नगदेबाली, सरसफाइ र सामूहिक कार्यसमेत सिक्ने गरेका छन्। यसले विद्यार्थीको अध्ययन क्षमतामा उल्लेखनीय सुधार ल्याएको शिक्षक तथा अभिभावकहरूको भनाइ छ।

विद्यालयका विद्यार्थीले ‘गुफा आवाज’ नामक मासिक बाल भित्तेपत्रिका प्रकाशन गर्दै साहित्य, कला, सङ्गीत र उद्घोषण जस्ता अतिरिक्त गतिविधिमा पनि सक्रियता बढाएका छन्।

निगालोबाट डोको बुन्दै महिनामा तीन–चार हजार रुपैयाँसम्म कमाइ गर्न थालेको कक्षा ६ का समीर तामाङ भन्छन्, “स्कूलमै सिकेको सीपले आम्दानी गर्न पाउँदा धेरै प्रेरणा मिलेको छ।” कक्षा ५ की मञ्जु तामाङले पनि मकैको खोस्टाबाट चकटी बुनी आम्दानी कमाउन थालेको बताइन्।

व्यावहारिक सीपमै आधारित शिक्षा विस्तार हुँदै जाँदा सामुदायिक विद्यालयप्रतिको विश्वास पनि थप मजबुत बन्दै गएको स्थानीयको अनुभव छ।

प्रतिक्रिया दिनुहोस्