राजतन्त्र विरोध प्रदर्शन कभरेजका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक सहिद घोषणा



काठमाडौँ, मंसिर २६। राजतन्त्र समर्थकहरूको प्रदर्शनको श्रव्य–दृश्य सामग्री कैद गर्ने क्रममा तीनकुनेमा ज्यान गुमाएका एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्य सहिद घोषणा गर्ने निर्णय गरेको हो।

वि.सं २०८१ चैत १५ गते बिहान कार्यबाहक तयारी गर्दै घरबाट निस्किएका रजक त्यसै दिन प्रदर्शनस्थल नजिकैको एक घरमा लागेको आगलागीमा परेर मृत्यु भएका थिए। agलागी नियन्त्रणमा लामो समय लागेको रजक घटनास्थलमै अड्किएको प्रहरीले पछि पुष्टि गरेको थियो।

रजककी श्रीमती सुजन मगियाले सरकारले गरेको निर्णयले “सुरेशले न्याय पाएको अनुभूति भएको” बताउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल प्रती कृतज्ञता व्यक्त गरेकी छन्। विगत सात महिनादेखि आफूहरू न्यायका लागि दौडधूप गरिरहे पनि सुनुवाइ नहुने अवस्थामा नयाँ सरकारले त्वरित रूपमा मुद्दालाई सम्बोधन गरेको उनले बताइन्।

सञ्चारमन्त्री खरेलको पहलमा रजककी श्रीमती सुजनलाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरका रूपमा रोजगारी पनि उपलब्ध गराइएको छ। मन्त्रीको सक्रियतामा सहिद घोषणा प्रक्रियालाई अघि बढाएको परिवारको भनाइ छ।

रजकका दाइ दिनेश रजकले पनि सरकार र मन्त्री खरेल प्रती आभार व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही गर्न बनेको समिति प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

चार दशकदेखि पत्रकारितामा समर्पित रजकको मृत्युले नेपाली मिडियाक्षेत्रलाई गहिरो चोट पुर्‍याएको छ। परिवारजन, सहकर्मी तथा स्थानीयले उहाँलाई कर्तव्यपालनकै क्रममा बलिदान भएको पत्रकारका रूपमा सम्झिरहेछन्।

प्रतिक्रिया दिनुहोस्