एनपिएलको फाइनल शनिबार : सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त
काठमाडौं, मंसिर २६ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भोलि दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। फाइनल खेल दिउँसो ३ः३० बजे सुरु हुने छ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो। यस्तै, दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई ४० रनले पाखा लगाउँदै उपाधि भिडन्तमा प्रवेश गरेको हो।
गत वर्ष जनकपुर बोल्ट्ससँग उपाधि गुमाएको सुदूरपश्चिम (कप्तान दिपेन्द्रसिंह ऐरी) यसपालि ट्रफी उठाउने लक्ष्यमा छ। उता, रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणमै बाहिरिएको कमजोर छाप धुने मनसायमा मैदान उत्रिनेछ। यसअघि लिग चरणको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो।
प्रतियोगिताको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार हात पार्नेछ। उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथोले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १ देखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।

