सशस्त्र प्रहरीद्वारा ठोरीमा ९१ किलोग्राम अबैधगाँजा बरामद
वीरगञ्ज (पर्सा),मंसिर २६ । सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अबैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका सूचना अधिकारी विश्वराज योञ्जनले नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाँजा बरामद गरेको जानकारी दिनुभयो ।
उहाँले बरामद भएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको जानकारी दिनुभयो । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार कार्यलाई निस्तेज पार्ने अभियान तीव्र पार्दै आइरहेको जनाएको छ ।

