नुवाकोटको कोलोनीमा पहिलोपटक कृषि हाटबजार संचालन, किसान–उपभोक्तालाई एकै थलोमा जोड्दै
नुवाकोट,मंसिर २६ । नुवाकोटको कोलोनी क्षेत्रमा पहिलोपटक कृषि हाटबजार सञ्चालन गरिएको छ। उपभोक्ता तथा किसान दुवैलाई सुविधा पुर्याउने उद्देश्यसाथ विदुर नगरपालिका र लायन्स इन्टरनेसनल डिस्टिक्ट ३२५ जे को साझेदारीमा बाघटार कोलोनी (विदुर–९) मा निर्मित हाटबजार शुक्रबारदेखि सञ्चालनमा आएको हो।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले हाटबजारको उद्घाटन गर्दै किसानका उत्पादनको प्रभावकारी वजारीकरण र उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै केन्द्र स्थापना गरिएको बताए। उनले किसान र उपभोक्तालाई यसबाट अधिकतम लाभ लिन आग्रह समेत गरे।
उक्त हाटबजार विदुर नगरपालिकाको १० लाख तथा लायन्स इन्टरनेसनल डिस्टिक्ट ३२५ जे को ५ लाख रुपैयाँको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको हो। हरेक शुक्रबार बिहान नियमित रूपमा सञ्चालन गरिने यस हाटबजारमा किसानले आफ्नै मेहनतले उत्पादन गरेका कृषि सामग्री सजिलै उपलब्ध गराउने व्यवस्था गरिएको छ।
कार्यक्रममा म्यागङ गाउँपालिकाका अध्यक्ष आशावहादुर तामाङ, विदुर नपाकी उपमेयर प्रभा वोगटी तथा विभिन्न वडाध्यक्षहरूले हाटबजारलाई निरन्तरता दिंदै किसान–उपभोक्तामुखी बनाउनुपर्नेमा जोड दिएका थिए।

