एमाले ११औँ महाधिवेशनको तयारी पूरा, उद्घाटनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिता
काठमाडौं,मंसिर २७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनसहित सम्पूर्ण कार्यक्रमका तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
महाधिवेशन जनपरिचालनका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईका अनुसार उद्घाटनसत्रमा देशभरबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहनेछ। उद्घाटन समारोहलाई विशेष बनाउन नेपालको एकताको प्रतीक झल्किने गरी दुई सयभन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति र परम्परा प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिनेछ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका प्रमुख राजनीतिक दलका नेताहरू सहभागी हुने प्रतिबद्धता जनाइसकेको आयोजकले जनाएको छ। साथै विभिन्न १६ वटा राजनीतिक दलका अध्यक्ष तथा शीर्ष नेताहरूको उपस्थिति रहनेछ। भ्रातृत्व र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका कूटनीतिक नियोग तथा विदेशी राजनीतिक दलका प्रतिनिधिहरूबाट शुभकामना सन्देश प्राप्त भइरहेको पनि आयोजकले जानकारी दिएको छ।
महाधिवेशनलाई शान्तिपूर्ण, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन गरिएको छ। महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार पार्टीका २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी पाँच सयभन्दा बढी स्वयंसेवकलाई ड्रेसकोडसहित परिचालन गरिनेछ। जनसभा तथा कार्यक्रमलाई व्यवस्थित बनाउन तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने उनले बताए।
एमाले नेतृत्वले महाधिवेशनलाई पार्टीको भावी दिशा निर्धारण गर्ने ऐतिहासिक अवसरका रूपमा लिँदै सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

