प्राथमिक विद्यालयमा मोबाइल निषेध : इजरायलको नयाँ शैक्षिक नीति



इजरायल,मंसिर २७ । इजरायलले सन् २०२६ फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बालबालिकालाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमार्फत सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार नयाँ नीतिअन्तर्गत विद्यालय परिसरमा विद्यार्थीले मोबाइल फोन प्रयोग गर्न पाउने छैनन्। यसले बालबालिकालाई मोबाइलको अत्यधिक प्रयोगबाट जोगाउँदै स्वस्थ, सुरक्षित र अनुशासित शैक्षिक वातावरण निर्माण गर्ने विश्वास गरिएको छ।

शिक्षामन्त्री योभ किस्चले अध्ययन, स्वास्थ्य र सुरक्षालाई केन्द्रमा राखेर नीति ल्याइएको बताउनुभयो। उहाँले मोबाइल फोनको अत्यधिक प्रयोगले सिकाइ प्रक्रियामा नकारात्मक असर पार्ने भएकाले त्यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतिबन्ध कार्यान्वयनसँगै विद्यालयहरूले कक्षा कोठामा शैक्षिक प्रयोजनका लागि सन्तुलित प्रविधि प्रयोग, अभिभावकसँग समन्वय, सामाजिक सञ्जालको अत्यधिक प्रयोग रोकथाम तथा उमेरअनुसार अनुपयुक्त सामग्रीबाट बालबालिकालाई जोगाउने विषयमा पनि ध्यान दिने शिक्षा मन्त्रालयले जनाएको छ।

यद्यपि सरकारी प्रतिबन्ध फेब्रुअरी २ देखि लागू हुने भए पनि विद्यालयहरूले तत्कालै आफ्नै निर्णयमार्फत मोबाइल प्रयोगमा रोक लगाउन सक्नेछन्। यसअघि नै सेप्टेम्बरदेखि तटीय क्षेत्र तेल अभिभका सबै विद्यालयमा स्मार्टफोन प्रतिबन्ध लागू गरिएको छ।

इजरायल मात्र नभई अष्ट्रेलिया, फ्रान्सलगायत कैयौँ देशले विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्। युनेस्कोका अनुसार सन् २०२४ को अन्त्यसम्म विश्वभरका करिब ४० प्रतिशत शिक्षा प्रणालीमा विद्यालयस्तरमा स्मार्टफोन प्रयोगमा कुनै न कुनै प्रकारको प्रतिबन्ध लागू भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्