नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन केही समयमै



काठमाडौँ,मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह केही समयपश्चात सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिँदैछ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधि तथा नेता–कार्यकर्ता धमाधम काठमाडौँ आइरहेका छन्। मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल तथा ६ वटा सामाजिक संघ–संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

भक्तपुरको सल्लाघारीस्थित उद्घाटन स्थल सहभागीहरूले भरिन थालेको छ। समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ भने सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ मिलाइएको छ।

एमालेको ११ औँ महाधिवेशनमा कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी हुनेछन्। वैधानिक व्यवस्थाअनुसार पाँच प्रतिशत मनोनयनमार्फत १ सय ८ जना प्रतिनिधि थपिनेछन्। साथै ३ सय ९ जना केन्द्रीय सल्लाहकारसहित महाधिवेशनमा सहभागी हुने कुल संख्या २ हजार ५ सय ७१ पुगेको छ।

महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन तथा नीति–कार्यदिशा तय गर्ने भएकाले यसलाई एमालेले विशेष महत्वका साथ लिएको छ।

प्रतिक्रिया दिनुहोस्