एमाले खरानीबाट उठेर झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल
काठमाडौं,मंसिर २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले खरानीबाट उठेर झनै शक्तिशाली बनेको दाबी गर्नुभएको छ। भक्तपुरको सल्लाघारीमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एमालेविरुद्ध संगठित र सुनियोजित प्रहार भए पनि पार्टी अझ मजबुत बनेर अघि बढिरहेको बताउनुभयो।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेको घटनापछि एमाले र पार्टी नेतृत्वमाथि निरन्तर आक्रमण भइरहेको उल्लेख गर्दै कतिपयले एमाले समाप्त भयो भन्ने भ्रम फैलाउन खोजे पनि महाधिवेशनमा देखिएको जनसहभागिताले त्यसलाई गलत सावित गरेको स्पष्ट गर्नुभयो। उहाँले एमाले सरकारबाट मात्र बाहिरिएको तर नेपाली जनताको हृदयबाट कहिल्यै बाहिर नहटेको दाबी गर्नुभयो।
भदौ २३ र २४ गतेका घटनालाई देशविरोधी तत्वहरूले नवयुवाको भावनामाथि खेल्ने प्रयासका रूपमा चित्रण गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला परिवर्तनकारी आन्दोलनको नेतृत्व एमालेले नै गरेको स्मरण गराउनुभयो। उहाँले महाधिवेशनपछि पार्टीले नयाँ ऊर्जा र दृढ संकल्पका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
महासचिव पोखरेलले बन्दसत्रमार्फत पार्टीको नीति र कार्यक्रम कार्यान्वयन गर्न सक्षम नेतृत्व चयन हुने र नवयुवालाई नेपालको आधारस्तम्भका रूपमा स्थापित गर्ने लक्ष्यसहित एमाले अघि बढ्ने पनि बताउनुभयो।

