एमाले अजम्बरी छ, लोकतन्त्र जीवित छ : अध्यक्ष केपी शर्मा ओली



काठमाडौं, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले अजम्बरी रहेको दाबी गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र अझै जीवित रहेको र एमाले त्यसको बलियो आधार भएको बताउनुभयो।

अध्यक्ष ओलीले पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको समय सकियो र एमालेको सान्दर्भिकता समाप्त भयो भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता सबै भ्रमलाई चिर्दै जनसागर उर्लिएको बताउनुभयो। उहाँले महाधिवेशनमा देखिएको व्यापक सहभागिताले एमालेप्रतिको जनविश्वास अझै मजबुत रहेको पुष्टि गरेको धारणा राख्नुभयो।

उहाँले लोकतन्त्र कमजोर भएको भन्ने आरोपलाई अस्वीकार गर्दै एमालेको निरन्तर संघर्ष, बलिदान र योगदानकै कारण देशमा लोकतान्त्रिक अभ्यास कायम रहेको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ, संगठित र जनमुखी बनाउँदै राष्ट्रिय हित र जनताको अपेक्षाअनुसार अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

महाधिवेशन उद्घाटन समारोहमा देशभरबाट आएका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्