दोलखाको कालिनाग माविमा विद्यालय बस सेवा सुरु, विद्यार्थी आवतजावत सहज



दोलखा,मंसिर २७ । कालिन्चोक गाउँपालिका–८ स्थित कालिनाग माध्यमिक विद्यालय (नमुना)ले विद्यार्थीका लागि विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। टाढा–टाढाबाट पैदल हिँड्नुपर्ने बाध्यता हटाउन बस सेवा सुरु गरिएपछि विद्यार्थीको आवतजावत सहज बनेको छ।

बस सेवा उद्घाटन कार्यक्रममा बाग्मती प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री कुन्दनराज काफ्लेले सामुदायिक विद्यालयलाई अब्बल बनाउन र शिक्षामा सबैको पहुँच विस्तार गर्न यस्तो सेवा महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले राज्यको लगानी बढ्दै गए पनि विद्यार्थी संख्या घटिरहेको सन्दर्भमा बस सुविधा जस्ता पहलले अभिभावकको भरोसा फिर्ता ल्याउन सहयोग गर्ने उल्लेख गर्नुभयो।

पहिले बिहानैदेखि लामो दूरी पैदल हिँड्नुपर्ने बाध्यता रहेकामा अब घर नजिकैबाट बसले विद्यालय पुर्‍याउने भएपछि विद्यार्थी र अभिभावक दुवै उत्साहित देखिएका छन्। सुरक्षित, नियमित र निःशुल्क बस सेवा सञ्चालनपछि विद्यालयप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष कुलबहादुर बुढाथोकीले सामुदायिक विद्यालय सुधारका लागि स्थानीय तहले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउँदै बस सेवाले भर्ना वृद्धि र नियमित उपस्थिति सुनिश्चित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। वडाध्यक्ष सूर्यबहादुर आचार्यले विद्यार्थीको सुरक्षा र समयमै विद्यालय पुग्ने अभिभावकको चिन्ता समाधान भएको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण शिवाकोटीले विपन्न वर्गका बालबालिकालाई विद्यालय पहुँच सहज बनाउन बस सेवाले ठूलो टेवा पुर्‍याउने उल्लेख गर्नुभयो। कक्षा १ देखि १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्