चिउरीवास जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, तीन घाइतेको अवस्था गम्भीर
पाल्पा,मंसिर २७ । निस्दी गाउँपालिका–४ चिउरीवासमा शुक्रबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार उपचारका क्रममा नवलपरासीको मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो।
यसअघि नवलपरासीको मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्धिमाया विक, पाल्पाको निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारू र निस्दी–४ ठोक्सिङकी ४५ वर्षीया ओमकुमारी खाम्चाको घटनास्थलमै मृत्यु भएको थियो। मृतक सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सात जना घाइते भएका छन्। तीमध्ये चार जनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने तीन जनाको मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासी र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। उपचाररत घाइतेको अवस्था गम्भीर भए पनि खतरामुक्त रहेको प्रहरीको भनाइ छ।
निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जीप शुक्रबार बिहान करिब १० बजे दुर्घटना भएको हो। उकालोमा यात्रु ओराल्ने क्रममा रोकिराखिएको जीप आफैँ पछाडि सर्दै सडकबाट करिब एक हजार १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सामान्य घाइते भएका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।

