भदौ २३–२४ मा थप क्षति रोक्न राजीनामा दिएको हो : अध्यक्ष ओली



भक्तपुर, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनामा थप क्षति नहोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको स्पष्ट गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यतिबेला सिर्जित असामान्य परिस्थितिलाई नियन्त्रणमा राख्न राजीनामा दिनुपरेको बताउनुभयो।

उहाँले आफू हेलिकप्टर चढेर भागेको भन्ने प्रचारप्रति आपत्ति जनाउँदै त्यो दिनको घटनालाई ‘महाविनाश’ को संज्ञा दिनुभयो। अध्यक्ष ओलीले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत गर्नुभयो। उहाँका अनुसार हिंसा र अराजकताबाट देशले ठूलो क्षति व्यहोरेको छ, जसलाई बिर्सन नहुने उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले हिंसा वा युद्ध कुनै पनि हालतमा परिवर्तनको साधन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। जनताको मन जितेर, शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत समाज परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो। उहाँले पार्टी कार्यकर्ता तथा जनतालाई धैर्य, एकता र अनुशासनका साथ अघि बढ्न आग्रह गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामै एमाले प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो।

प्रतिक्रिया दिनुहोस्