नुवाकोटको लिखु–१ राम्चेमा बौद्ध सामुदायिक भवनको भव्य उद्घाटन



नुवाकोट, मंसिर २७ । जिल्लाको लिखु गाउँपालिका–१ राम्चेमा निर्माण सम्पन्न भएको बौद्ध सामुदायिक भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा बाग्मती प्रदेश सभा सदस्य राधिका तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा बौद्ध संस्कृति संरक्षण र सामुदायिक एकता सुदृढ गर्ने उद्देश्यले भवन निर्माण गरिएको बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहँदा हितबहादुर तामाङले बजेट विनियोजन गरेपछि उक्त भवन निर्माण प्रक्रिया अघि बढेको थियोे । कुल ४१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस सामुदायिक भवनले अब स्थानीय बौद्ध समुदायका धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले बौद्ध संस्कृति र पहिचान संरक्षणका लागि यस्ता संरचनाको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयको सक्रिय सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्