नुवाकोट शिवपुरीका क्यान्सर पीडित रेशमबहादुर तामाङको उपचारका लागि सहयोगको अपिल



नुवाकोट, मंसिर २७ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरुवागाउँका रेशमबहादुर तामाङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित छन्। विगत दुई वर्षदेखि उपचारका लागि आफ्ना जायजेथा बेचेर तथा धितो राखेर भारतको बेंगलोरस्थित एचसीजी क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका तामाङको उपचारमा हालसम्म एक करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

परिवारका अनुसार उपचारपछि केही समय स्वास्थ्य अवस्थामा सुधार देखिए पनि पछिल्लो समय क्यान्सर पुनः फैलिएको छ। सुरुमा मलाशय र कलेजोमा मात्र देखिएको क्यान्सर अहिले मलाशय, कलेजो, फोक्सो, हड्डी तथा ओलिगोमेट्ससम्म फैलिएको चिकित्सकले बताएका छन्। हाल थप छ पटक केमोथेरापी आवश्यक परेको छ, जसका लागि अघिल्लोभन्दा धेरै खर्च लाग्ने अवस्था रहेको छ।

आर्थिक स्रोत समाप्त भइसकेकाले थप उपचारमा समस्या आएको रेशमबहादुर तामाङले बताएका छन्। हाल उनलाई स्वासप्रश्वासमा समेत समस्या देखिन थालेको छ। जीवनरक्षाका लागि अझै उपचार आवश्यक रहेकाले आर्थिक अभावका कारण कठिन अवस्थामा पुगेको भन्दै उनले सबै सहयोगी मनकारी व्यक्ति, संघ–संस्था तथा समाजसेवीसँग सहयोगको अपिल गरेका छन्।

परिवारले पनि तामाङको जीवन बचाउन सहयोग गरिदिन आग्रह गर्दै मानवीय सहानुभूतिका आधारमा सहयोग गर्न अनुरोध गरेको छ। उनलाई सहयोग गर्न तलको डिजिटल माध्यम अपनाउन सकिनेछ ।

रेशमबहादुर तामाङको पछिल्लो अवस्था !

प्रतिक्रिया दिनुहोस्