दुप्चेश्वर धामको शनिबारको भेटी एक लाख नाघ्यो
नुवाकोट, मंसिर २७ । शनिबार दुप्चेश्वर धाममा संकलन भएको भेटी रकम एक लाख नाघेको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार शनिबार धाममा जम्मा भेटी रकम रु. १ लाख २३ हजार २५ रुपैयाँ संकलन भएको हो।
कोषका अनुसार उक्त रकममध्ये डिजिटल (QR) माध्यमबाट रु. १ हजार ५०५ रुपैयाँ र मध्यान्ह आरतीमार्फत रु. २९ हजार ३७० रुपैयाँ समेत संकलन भएको हो ।
दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले भेटी गणना कार्य पारदर्शी रूपमा दैनिक सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले समय अनुकूल हुने सम्पूर्ण श्रद्धालु तथा महानुभावहरूलाई प्रत्येक दिन बेलुका ५ बजे दुप्चेश्वर धामको भेटी गणना स्थलमा उपस्थित भई सहभागिता जनाउन आग्रह गर्नुभएको छ।
धाममा नियमित रूपमा श्रद्धालुहरूको चहलपहल बढ्दै गएकाले भेटी संकलनमा पनि वृद्धि भइरहेको कोषले जनाएको छ।

