नुवाकोट त्रिशूलीमा भएको जिल्ला स्तरीय विज्ञान प्रदर्शनीमा क्षेत्रपाल मावि प्रथम



नुवाकोट, मंसिर २८ । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको आयोजनामा नुवाकोट जिल्लास्तरीय माध्यमिक विद्यालयहरूको विज्ञान प्रदर्शनी त्रिशूलीमा सम्पन्न भएको छ। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको परिसरमा शुक्रबार आयोजित एक दिने प्रदर्शनीमा जिल्लाका विभिन्न पालिकाबाट छनोट भएका विद्यालयहरूले सहभागिता जनाएका थिए।

प्रदर्शनीमा लिखु गाउँपालिका–४ चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरूले निर्माण गरेका विज्ञान सामग्री प्रथम भएका छन्। त्यस्तै पञ्चकन्या गाउँपालिकामा रहेको इन्द्रायणी प्राविधिक माध्यमिक विद्यालय द्वितीय र देउराली माध्यमिक विद्यालय तृतीय स्थानमा रहेका छन्।

जिल्लाका १२ पालिकामध्ये ११ पालिकाबाट छनोट भएका ११ वटा विद्यालयका विद्यार्थीहरूले प्रदर्शनीमा सहभागिता जनाएका थिए। प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण तथा तयार पारेका विभिन्न नवीन र प्रयोगात्मक विज्ञान सामग्रीहरू राखिएका थिए।

आयोजक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले विज्ञान सामग्रीसँगै खानाका परिकारसमेत गरी ३३ प्रकारका स्टलहरू राखेको थियो। प्रदर्शनीले विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र प्रयोगात्मक सिकाइलाई प्रवर्द्धन गरेको आयोजकको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्