देशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना
काठमाडौँ,मंसिर २८ । आज कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिक बदलीको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव कायम रहेको महाशाखाले जनाएको छ।
यसैबीच, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। आज बिहान पौने ६ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। आज उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा चिसो अझै बढेको देखिएको छ। हुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ। मौसमविद्हरूले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

