एमाले केन्द्रीय कमिटी पुनः ३०१ सदस्यीय, पदाधिकारी संख्या बढाइयो



काठमाडौं,मंसिर २८ । नेकपा एमालेले पार्टी कमिटीको संरचना पहिलेकै अवस्थामा फर्काएको छ। ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम गर्ने निर्णय गरेको हो।

संशोधित विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने व्यवस्था गरिएको छ। यससँगै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो पनि गठन गरिएको छ।

यसअघि विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा सीमित गर्ने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनका लागि पदाधिकारी संख्या बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रस्ताव राखेपछि संरचना पुनः परिमार्जन गरिएको हो।

यद्यपि, विधान महाधिवेशनबाट टुंगो लागेको विषय पुनः संशोधन गरिएको भन्दै केही नेताहरूले असन्तुष्टि जनाएका छन्। एमालेको केन्द्रीय कमिटी यसअघि पनि ३०१ सदस्यीय नै रहेको थियो, तर गत भदौको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्