छहरे–टोखा सडकखण्डमा फोहोर र दिसापिसाब बढ्दै, स्थानीयको गुनासो



नुवाकोट,मंसिर २८। छहरे–टोखा सडकखण्ड अन्तर्गत छहरे बजारदेखि शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन आसपासको क्षेत्रमा अत्यधिक फोहोरमैला र खुला दिसापिसाब हुने गरेको भन्दै स्थानीयले चासो व्यक्त गरेका छन्।

स्थानीय युवा सचिन श्रेष्ठका अनुसार विशेषगरी कोल्सा क्षेत्रमा सवारीसाधन रोकेर यात्रुले दिसापिसाब गर्ने, बान्ताका प्लास्टिक झोला जथाभावी फाल्ने प्रवृत्ति बढेपछि टोल नै दुर्गन्धित बन्न पुगेको छ। यसले स्थानीयको दैनिकी मात्र होइन, वातावरण र सार्वजनिक स्वास्थ्यमा समेत असर पुगेको उनको भनाइ छ।

यात्रुको चाप बढ्दै गएको उक्त सडकखण्डमा सार्वजनिक शौचालयको अभाव प्रमुख समस्या रहेको बताउँदै श्रेष्ठले सम्बन्धित निकायसँग शौचालय व्यवस्थापन गर्न आग्रह गरेका छन्। साथै सवारी रोक्ने स्थानमा खुला दिशापिसाब नगर्न, फोहोर नफाल्न स्थानीयस्तरबाट अनुरोधसमेत गरिएको उनले जानकारी दिए।

स्थानीयले खुला स्थानमा दिशापिसाब गर्न निषेध गरिएको सार्वजनिक सूचना बोर्ड राख्नुपर्ने माग गरेका छन्। नियम उल्लङ्घन गरेमा पहिलो पटक कडा चेतावनी, दोस्रो पटक जरिवाना र तेस्रो पटक कानुनी कारबाही गर्नुपर्ने सुझावसमेत दिइएको छ।

“सफा ठाउँ नै स्वस्थ समाजको आधार हो,” भन्दै स्थानीयले आफू पनि सुरक्षित बस्न र अरूलाई पनि सुरक्षित वातावरण दिन सबैले सफाइ अपनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्