कांग्रेस नेता तथा पूर्व सांसद चालिसेविरुद्ध साढे ३ करोडको भ्रष्टचार मुद्दा दायर



काठमाडौ,मंसिर २८ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सन्तोष चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विघटित प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति समेत रहेका चालिसे विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सार्वजनिक पदमा रहँदा चालिसेले आफ्नो आय स्रोत भन्दा बढी खर्च तथा सम्पत्ति जोडेको देखिएको छ । छानबिन अवधिमा उनको तथा परिवारको नाममा रहेको करिब ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको दाबी अख्तियारको छ ।

उक्त रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्न र कैद सजाय माग गर्दै आरोपपत्र दर्ता गरिएको हो ।

चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर हुन् । उनी २०७४ जेठ ८ मा मेयर निर्वाचित भएका थिए भने २०७९ मा काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए । आगामी फागुन २१ को निर्वाचनका लागि पनि सोही क्षेत्रबाट उनको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्