कांग्रेस धनकुटाद्वारा गगन थापालाई प्रतिनिधिसभा उम्मेदवार सिफारिस, प्रधानमन्त्री बनाउने रणनीति



धनकुटा,मंसिर २९ । नेपाली कांग्रेस धनकुटाले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटाबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ। जिल्लाबाट प्रधानमन्त्री बनाउने उद्देश्यसहित थापाको नाम सिफारिस गरिएको कांग्रेस धनकुटाले जनाएको छ।

धनकुटाबाट यसअघि सूर्यबहादुर थापा र नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भइसकेका छन् भने वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि धनकुटाकै भएकाले यही जिल्लाबाट जिताएर गगन थापालाई प्रधानमन्त्री बनाउने लक्ष्य राखिएको कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए। जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। धनकुटामा प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ।

यसअघि थापा काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका थिए। धनकुटाबाट गरिएको सिफारिस अन्तिम निर्णय नभई सुझाव मात्र भएको र अन्तिम टुंगो पार्टीको केन्द्रीय समितिले लगाउने सचिव राईले जानकारी दिए।

कांग्रेस धनकुटाले संगठन विस्तार र एमालेको कठिन किल्ला तोड्ने रणनीतिअन्तर्गत थापाको नाम अघि सारेको जनाएको छ। धनकुटामा विगतका प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले लगातार जित हासिल गर्दै आएको छ भने २०६४ सालमा मात्र माओवादीले जितेको थियो। केही निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका सूर्यबहादुर थापा र सुनिलबहादुर थापा पनि विजयी भएका थिए। सूर्यबहादुर थापाको निधन भइसकेको छ भने सुनिलबहादुर थापा हाल नेपाली कांग्रेसमा आवद्ध छन्।

हालसम्म धनकुटामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले जित हात पार्न नसकेको पृष्ठभूमिमा आगामी निर्वाचनलाई महत्वपूर्ण मानिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री थापासँगै जिल्ला सभापति दिनेश राई, पूर्व सभापति हरिकुमार राई र मनोहरनारायण श्रेष्ठको नाम पनि सिफारिस गरिएको छ। जिल्ला सभापति राईको नाम दोस्रो नम्बरमा समावेश गरिएको छ।

समानुपातिकतर्फ कमोट फागो, करुणा कटुवाल, टीकादेवी भण्डारी, अम्बिका धमला, सीता प्रधान र मिना राईको नाम सिफारिस गरिएको छ। यस्तै राष्ट्रियसभाका लागि सुनिलबहादुर थापा, आनन्दसन्तोषी राई, अजितनारायण सिंह थापा, लीला सुब्बा र अञ्जना ताम्लीको नाम सिफारिस गरिएको छ भने दलिततर्फ रवीन्द्र नेपाली, अम्बिका परियार र इन्दु दर्नालको नाम सिफारिस गरिएको कांग्रेस धनकुटाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्