नुवाकोट बेलकोटका यज्ञप्रसादको १०४ औं जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण



नुवाकोट,मंसिर २९ । जिल्लाको बेलकोटगढी नगरपालिका–५ टोड्केमा रहेको श्री गणेश आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। बेलकोटगढी–५ कोल्पुटार निवासी यज्ञप्रसाद रिमालको १०४औँ जन्मजयन्तीको अवसर पारेर उहाँका नाती, अमेरिका निवासी उत्सव रिमालको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो।

कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष मदन भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विद्यालयका अनुसार ५० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। नुवाकोट जिल्लाकै ज्येष्ठ नागरिकमध्ये पर्नुहुने यज्ञप्रसाद रिमालको सुस्वास्थ्य तथा दीर्घायुको कामनासहित आयोजना गरिएको उक्त कार्यक्रममा आफ्नै गाउँको विद्यालयमा अध्ययनरत साना बालबालिकालाई सहयोग गर्न पाउँदा आफू निकै खुशी लागेको रिमालले टेलिफोनमार्फत प्रतिक्रिया दिनुभयो।

कार्यक्रममा समाजसेवी तथा यज्ञप्रसाद रिमालका जेठा छोरा नारायण रिमाल, बेलकोटगढी नगरपालिकाकी कार्यपालिका सदस्य अनुराधा श्रेष्ठ लगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो। यसअघि पनि रिमाल परिवारले आफ्नो जन्मभूमि बेलकोटगढी–५ का विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको बताइएको छ।

विद्यालयका शिक्षक हिरा भुजेलका अनुसार न्यानो कपडा पाएपछि विद्यार्थीहरू अत्यन्तै खुशी देखिएका छन्। यस किसिमको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा समेत सकारात्मक प्रभाव पर्ने विद्यालयको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्