नुवाकोटको ढाडेखोलामा पक्की मोटरेबल पुल निर्माण सुरु, बेलकोट र ककनीका बासिन्दामा खुसी
नुवाकोट,मंसिर २९ । नुवाकोटको पूर्वी भेगमा पर्ने ढाडेखोलामा पक्की मोटरेबल पुल निर्माणको काम सुरु भएको छ । पुल निर्माण सुरु भएसँगै बेलकोटगढी नगरपालिका–१३ र ककनी गाउँपालिका–७ क्षेत्रका स्थानीय बासिन्दामा खुसी छाएको छ । निर्माणाधीन पुलको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुललाई गुणस्तरीय, प्रभावकारी र दीर्घकालीन रूपमा निर्माण गर्न निर्माण पक्षलाई निर्देशन दिनुभयो । उहाँले समयमै निर्माण सम्पन्न गरी जनतालाई सुविधा दिनु सरकारको दायित्व भएको उल्लेख गर्दै पुल निर्माणपछि स्थानीयको आवागमन सहज हुने, व्यापार–व्यवसाय प्रवर्द्धन हुने तथा शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास व्यक्त गर्नुभयो । जनताको पहिलो आवश्यकता सडक र पुल भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
ढाडेखोला पक्की पुल बागमती प्रदेश सरकारको कुल ४ करोड ९४ लाख ९६ हजार १ सय ७९ रुपैयाँको लागतमा निर्माण थालिएको हो । पूर्वाधार विकास कार्यालय नुवाकोटका अनुसार आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पुल २०८३ साल पुस २१ गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ ।
निर्माणाधीन पुल एक स्पानको हुने र यसको लम्बाइ ३७ दशमलव ९ मिटर तथा चौडाइ ८ दशमलव ४ मिटर रहने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिनुभयो । पुलको प्राविधिक संरचना अनुसार गाडी गुड्ने भागको चौडाइ ६ मिटर र पैदलयात्री हिँड्ने भागको चौडाइ १ दशमलव २ मिटर रहनेछ । आधुनिक आरसिसी संरचनामा निर्माण भइरहेको यो पुलले क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

