अष्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो
सिड्नी,मंसिर २९ । सिड्नीको बोन्डी बिचमा हिजो भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृत्यु हुनेका एक जना १० बर्षीया बालिका पनि छन ।
यहूदी समुदायका धेरै सदस्यहरू साँझपख दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका बेला गोली चलेको थियो ।
सो प्रकरणमा बाबु र छोरा संलग्न भएको सिड्नी प्रहरीलाई उद्दत गर्दै बिबीसीले जनाएको छ।
गोली चलाउने बाबु-छोरा मध्ये ५० बर्षीय बाबुको मृत्यु भएको छ भने २४ बर्षीय छोराको उपचार भइरहेको र उनको पनि अवस्था गम्भीर रहेको बिबीसीले उल्लेख गरेको छ ।
घटनामा संलग्नता रहेको आशङ्कामा प्रहरीले केही अरु मानिसलाई पनि हिरासतमा लिएको छ ।
यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले यो घटनालाई ‘राक्षसी आक्रमण’ को संज्ञा दिनुभएको छ ।
उता, अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताउनुभएको छ।

