काभ्रेको मंगलटार प्रहरी हिरासतमा युवक मृत फेला, घटनाबारे अनुसन्धान जारी
काभ्रे,मंसिर २९ । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। काभ्रेको रोशी गाउँपालिका–१२ ढाडपाखाका २१ वर्षीय दुधराज तामाङले प्रहरी हिरासतभित्र आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार तामाङलाई चोरीको आरोपमा आइतबार नियन्त्रणमा लिइएको थियो। हिरासतमा राखिएको क्रममा शौचालयमा झुण्डिएको अवस्थामा फेला परेपछि घटनाबारे तत्कालै आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनापछि मृतकका आफन्तलाई खबर गरी प्रहरी कार्यालयमा बोलाइएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए।

