सिन्धुपाल्चोक इको पहिरो नियन्त्रणको सहमतिपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सूचारु



सिन्धुपाल्चोक,मंसिर २९ । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत भीषण इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणका काम थाल्ने सहमतिपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सूचारु भएको छ। मङ्सिर २० गतेदेखि भोटेकोशी गाउँपालिका–२ का १० किलो, कोप्लाङ, घट्टेखोला, कोदारीस्थित इको पहिरो क्षेत्रबासी तथा लिपिङका स्थानीयले सरकारलाई दबाब दिँदै सडक बन्द गरेका थिए।

भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा इको पहिरोपीडित स्थानीयले सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारी र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलासँग बिहीबार र शुक्रबार गरेको वार्तामा सरकारले दुई महिनाभित्र पहिरो दीर्घकालीन नियन्त्रण र पहिरोमाथि तथा आसपासका बस्ती संरक्षणका काम थाल्ने सहमति जुटेपछि सडक खुलाइएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

वर्षेनी बर्खायाममा कोदारी सडकको इको पहिरो खसिरहँदा डोजर र स्काभेटर प्रयोग गरी पन्छाउने क्रममा पहिरोमाथि र आसपासका बस्ती उच्च जोखिममा पर्ने गरेको भन्दै स्थानीयले हिउँदमै स्थायी समाधानको माग गर्दै आएका थिए। तर मागप्रति सुनुवाइ नभएपछि बाध्य भएर सडक बन्द गरिएको स्थानीयको भनाइ छ।

यसअघि असोज २ गते वडा अध्यक्ष श्रेष्ठको रोहवरमा सडक विभागका महानिर्देशक विजय जैसी, प्रमुख जिल्ला अधिकारी बाँस्तोला र पहिरोपीडितबीच कात्तिक मसान्तसम्म ठेक्का आह्वान गरी काम थाल्ने सहमति भएको थियो। तर सो अनुसार प्रक्रिया अघि नबढेपछि आन्दोलन चर्किएको थियो। अहिले सरकारले इको पहिरो दीर्घकालीन नियन्त्रणका लागि ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरी ठेक्का आह्वान गरेपछि स्थानीय सडक खुलाउन सहमत भएका हुन्।

इको पहिरोमाथि चौकीडाँडा, लालवीरचोक, मिलनबजार, कोदारीगुम्बा, कुदुङ, ताक्पासा, तार्तृङ, क्युसा, छेर्माङ, डमार, तामाङगुम्बालगायत क्षेत्रका करिब चार सय घरधुरी तथा विभिन्न धार्मिक र पर्यटकीय संरचना जोखिममा रहेका छन्। सहमति जुटेपछि तिब्बतको खासा, रमितेलगायत स्थानमा रोकिएका मालबस्तु बोकेका कन्टेनर तातोपानी भन्सार जाँचपासका लागि आउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्