नुवाकोटको लिखु गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, क्षेत्रपाल माविको २३ स्वर्णसहित उत्कृष्ट प्रदर्शन
नुवाकोट,मंसिर २९ । नुवाकोटको लिखु गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण निकाय, शिक्षक, विद्यार्थी, खेलाडी तथा आयोजकप्रति लिखु गाउँपालिका शिक्षा शाखाले धन्यवाद व्यक्त गरेको छ।
प्रतियोगितामा क्षेत्रपाल माध्यमिक विद्यालयले २३ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। त्यसैगरी नारायणदेवी माध्यमिक विद्यालयले ३ स्वर्ण पदकसहित द्वितीय स्थान र महेन्द्र महेशदेव माध्यमिक विद्यालयले २ स्वर्ण पदकसहित तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। सहभागी विद्यालयहरूको सक्रिय सहभागिताले प्रतियोगितालाई थप उत्साहजनक बनाएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः नगद रु. १५ हजार, १२ हजार र ९ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण कार्यक्रम लिखु गाउँपालिकाकी उपाध्यक्ष सुभद्रा अधिकारी उप्रेतीको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो।
यस प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास, विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ।

