नुवाकोट पञ्चकन्यामा नेकपाको पार्टी एकता सन्देश सभा भव्य रूपमा सम्पन्न



नुवाकोट,मंसिर २९ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता सन्देश सभा सम्पन्न भएको छ। पञ्चकन्या गाउँसमितिको आयोजनामा सोमबार सम्पन्न सभाले हालै विभिन्न वामपन्थी दलहरूबीच सम्पन्न पार्टी एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउने उद्देश्य राखेको थियो।

कार्यक्रम तत्कालीन नेकपा (एकीकृत समाजवादी) पञ्चकन्या गाउँसमितिका अध्यक्ष गणेश थापाको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यता रहेको थियो।

सभा सञ्चालन तत्कालीन माओवादी केन्द्र पञ्चकन्या गाउँसमिति अध्यक्ष छिरिङ दोर्जे तामाङले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि राधिका तामाङले जेन्जी समूहकी नबिना थापालाई टीका र खादा लगाएर स्वागत गर्दै मञ्चमा प्रवेश गराउनुभएको थियो।

सभामा बोल्ने वक्ताहरूले वामपन्थी शक्तिहरूबीचको एकता वर्तमान राजनीतिक परिस्थितिमा आवश्यक रहेको बताउँदै संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार र पार्टीलाई तल्लो तहसम्म मजबुत बनाउने विषयमा जोड दिएका थिए।

यस प्रकारका एकता सन्देश सभाहरू देशका विभिन्न स्थानमा निरन्तर आयोजना भइरहेको र यसले कार्यकर्ता तहमा उत्साह थप्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्