सरकारद्वारा उच्च स्तरीय राजनीतिक संवाद समिति गठन
काठमाडौं,पुस १ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूसँग वार्ता गर्न उच्च स्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन न्याय तथा संसदीय मन्त्री अनिल सिन्हा संयोजक, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहनुभएको संवाद समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।
बैठकका निर्णयहरू जानकारी गराउनुहुँदै सञ्चार मन्त्री जगदिश खरेलले सरकारले आगामी निर्वाचन र राजनीतिक वातावरण थप सहज बनाउन संवाद समिति गठन गरेको बताउनुभयो ।
यस्तै हिजो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्घाखाँचीका डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा काठमाडौँका सुनिधी श्रेष्ठ हाडालाई नियुक्त गर्ने र कानुनी व्यवस्थाबाहेक टिकटको रुपमा हुलाक टिकट टाँस्ने अभ्यासलाई हटाउने निर्णय भएको मन्त्री खरेलले जानकारी गराउनुभयो ।
यस्तै सञ्चार मन्त्री खरेलले सन् २०१६ नोभेम्बर ९ देखी निष्कासन भएका दुई सय र पाँचसय दरका भारतीय नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रुपैयाँ २५ हजारसम्म भारतबाट नेपाल भित्राउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

