विदुर बजारमा उपभोग्य वस्तुको गुणस्तर अनुगमन, मापदण्ड पालना गर्न व्यवसायीलाई निर्देशन
नुवाकोट,पुस १ । नुवाकोटको विदुर बजारमा उपभोग्य वस्तुको गुणस्तर, खाद्य सुरक्षा तथा उपभोक्ता हित संरक्षणका उद्देश्यले विदुर नगरपालिकाले विभिन्न स्थानमा बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायीलाई तोकिएका मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार उपभोक्ता हित संरक्षण, खाद्य सुरक्षा सुनिश्चितता तथा बजार व्यवस्थितीकरणलाई ध्यानमा राख्दै नगरभित्रका प्रमुख व्यवसायिक क्षेत्रहरूमा अनुगमन गरिएको हो। विदुर बजार अनुगमन समितिका संयोजक गणेशकुमार नेपालको नेतृत्वमा बट्टार, त्रिशूली, कोलोनी, ढुंगे, हावाघरलगायतका स्थानमा स्थलगत अनुगमन गरिएको जनाइएको छ।
अनुगमन टोलीले जम्मा १६ वटा व्यवसायको निरीक्षण गरेको थियो, जसमा चारवटा होटेल, सातवटा किराना पसल र पाँचवटा हरियो तरकारीको वेर्ना राखिएका पसलहरू रहेका छन्। अनुगमनका क्रममा खानेकुरा प्याकिङ तथा वितरणमा नन–फुड ग्रेड कागज प्रयोग नगर्न कडा निर्देशन दिइएको छ। आगामी दिनमा यस्ता सामग्री प्रयोग गरेको पाइए कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।
उद्योग शाखाका प्रमुख सुदर्शन सेढाइका अनुसार व्यवसायिक स्थलहरूमा तत्काल सरसफाइ गर्न, खाद्य सामग्री भण्डारण तथा प्रदर्शनी स्थल सफा र स्वच्छ राख्न तथा प्रचलित स्वच्छता मापदण्ड पालना गर्न व्यवसायीहरूलाई सचेत गराइएको छ। साथै, गुणस्तरहीन तेल प्रयोग नगर्न, रंग मिसाइएको खाद्य सामग्रीको बिक्री–वितरण रोक्न र गुणस्तरीय सामग्री मात्र प्रयोग गर्न निर्देशन दिइएको छ।
अनुगमन टोलीले स्थानीय हरियो प्याजको वेर्ना भन्दै बाहिरी क्षेत्रबाट ल्याइएका प्याज बिक्री गर्ने व्यवसायीलाई पनि यस्तो कार्य नगर्न चेतावनी दिएको छ। आगामी दिनमा यस प्रकारका गतिविधि दोहोरिएमा कानूनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ।

