शिवपुरीका विद्यालयमा विद्यालय नर्सद्वारा पोषण प्रवर्द्धन तथा नसर्ने रोग सचेतना कार्यक्रम
नुवाकोट,पुस १ । नुवाकोटको शिवपुरी गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा विद्यालय नर्समार्फत पोषण प्रवर्द्धन तथा नसर्ने रोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ। शिवपुरी गाउँपालिकाका स्वास्थ्य प्रमुख नारायण श्रेष्ठका अनुसार पालिकाभित्रका आठवटै वडामा रहेका ३६ वटा विद्यालयका बालबालिकालाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमअन्तर्गत चार जना विद्यालय नर्सले विद्यार्थीहरूलाई जङ्क फूड नखाने, विषादीरहित तथा सन्तुलित खाना खाने, नसर्ने रोगको जोखिम घटाउने उपायलगायतका विषयमा सचेतना दिइरहेका छन्। बालबालिकामा सानै उमेरदेखि स्वस्थ जीवनशैलीको विकास गराउने उद्देश्यले यो कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको स्वास्थ्य प्रमुख श्रेष्ठले बताए।
यसैगरी शिवपुरी गाउँपालिकामा रहेका १०९ वटा आमा समूहमार्फत पनि विभिन्न स्वास्थ्यसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन भइरहेको छ। आमा समूहलाई माध्यम बनाएर परिवार तथा समुदायस्तरमै पोषण, सरसफाइ र नसर्ने रोग न्यूनीकरणबारे जानकारी दिइँदै आएको गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए ।
पालिकाले विद्यालय र समुदाय दुवै तहमा स्वास्थ्य सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै स्वस्थ समाज निर्माणमा जोड दिइरहेको उनले जनाए ।

