पञ्चकन्या गाउँपालिकाका जेहेन्दार विद्यार्थीका अभिभावकलाई प्राकृतिक खेती सामग्री वितरण



नुवाकोट,पुस १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा एकीकृत सामुदायिक परियोजना अन्तर्गत छात्रवृत्ति कार्यक्रममा आबद्ध विद्यार्थीका अभिभावकहरूलाई प्राकृतिक खेती पद्धतिबाट तरकारी उत्पादनका लागि आवश्यक सामग्री वितरण गरिएको छ। गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, रुडेक नेपालको व्यवस्थापन तथा पञ्चकन्या गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा टनेल प्लास्टिक, स्प्रे मेसिन, क्रेट, बिउ–बिजन, सिँचाइ पाइपलगायतका कृषि उपकरणहरू वितरण गरिएको थियो। सामग्री वितरण पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष बिमला केसीको उपस्थितिमा सम्पन्न भएको हो।

रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीका अनुसार गाउँपालिका वडा नम्बर ४ का २० घरधुरीलाई तरकारी खेती प्रवर्द्धन गर्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको हो। प्राकृतिक खेतीलाई प्रोत्साहन गर्दै तरकारी विशेष पकेट क्षेत्र विकासका लागि यो सहयोग गरिएको उनले बताए।

कार्यक्रमले अभिभावकहरूको आयआर्जनमा टेवा पुग्नुका साथै विद्यार्थीको शैक्षिक निरन्तरतामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्