शिवपुरीको महेन्द्र आधारभूत विद्यालयले मनायो ६४औँ वार्षिकोत्सव
नुवाकोट, पुस २ । जिल्लाको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा रहेको महेन्द्र आधारभूत विद्यालयले आफ्नो ६४औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया प्रमुख अतिथि रहनुभएको थियो भने वडा नम्बर ८ का अध्यक्ष केशवप्रसाद रिजाल विशिष्ट अतिथि रहनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट कार्यसमिति सदस्य रमेश पाठक, होटल टुलिपका जीएम बलराम पाठक, कार्टसन नुवाकोटका अध्यक्ष पदम उप्रेती, जनज्ञान निकेतन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि सिटौला, जनज्ञान निकेतनका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछाने, पूर्व प्रधानाध्यापकहरू, पत्रकार, जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यालयको शैक्षिक सुधार र विकासका लागि विभिन्न दाताहरूले उल्लेखनीय सहयोग प्रदान गरेका छन्। शिवपुरी–८ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका कृष्णप्रसाद थपलियाले सम्पूर्ण विद्यार्थीहरूका लागि पोशाक सहयोग गर्नुभएको छ। त्यसैगरी मधु पाण्डेले कालू गुरुङको कार्यालयमार्फत २५ हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री सहयोग गर्नुभएको छ। लुम्बिनी एयर फ्रिगेटका सञ्चालक हरिबहादुर श्रेष्ठले दुई थान मादल सहयोग गर्नुभएको छ भने झण्डा, खैजडी बाजा तथा स्टेशनरी सामग्रीसमेत सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
यसैगरी महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेबाट विभिन्न सहयोग सामग्री प्रदान गरिएको छ भने शिवपुरी–८ निवासी सुवासराज पाण्डेले विद्यालयको खातामा १० हजार रुपैयाँ नगद जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सहयोगदाताहरूको योगदानले विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा शैक्षिक प्रस्तुति प्रदर्शन गरेका थिए। कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन र समग्र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

