एमाले महाधिवेशन : आज बिहानदेखि नयाँ नेतृत्व चयनका लागि मतदान
काठमाडौं,पुस २ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानदेखि सुरु हुने भएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले जानकारी दिएअनुसार मतदान प्रक्रिया बिहान ८ बजेबाट सुरु हुनेछ।
यसअघि मंगलबार बिहान ९ बजेका लागि तय गरिएको मतदान दिउँसो ४ बजेका लागि सारिएको थियो। तर, आवश्यक तयारी पूरा हुन नसक्दा साँझ ८ बजेसम्म पनि मतदान सुरु हुन सकेन। त्यसपछि थप तयारी गरेर बुधबार मात्रै मतदान गर्ने सहमति भएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा दुई हजार २६३ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाउनेछन्। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। दुवै पक्षले आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ। निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने निर्णयसँगै महाधिवेशन केही लम्बिएको भए पनि आजको मतदानपछि नयाँ नेतृत्व टुंगो लाग्ने अपेक्षा गरिएको छ।

