अख्तियारद्वारा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, पुस २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक विनेश मुनकर्मीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गर्दै दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको हो।
हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख रहेका मुनकर्मीको २०५४ फागुन १ देखि २०८० मङ्सिर १४ गतेसम्मको आम्दानी–खर्च विवरण अध्ययन गर्दा वैधानिक आम्दानी तीन करोड ७३ लाख ८१ हजार ४४४ रुपियाँ देखिएको आयोगले जनाएको छ। तर सोही अवधिमा उहाँले छ करोड २४ लाख १५ हजार ९६१ रुपियाँ खर्च तथा लगानी गरेको पाइएको छ। आम्दानीभन्दा खर्च बढी देखिएको रकमलाई बिगो कायम गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो। बिगो जफत प्रयोजनका लागि मुनकर्मीकी श्रीमती पूर्णकुमारी गोसाईंलाई पनि प्रतिवादी बनाइएको छ।
यसैबीच, अख्तियारले टीकापुर नगर विकास समितिको जग्गा कानुनविपरीत व्यक्तिविशेष तथा सङ्घ/संस्थालाई वितरण गरी हक हस्तान्तरण गरिएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि आयोगले पुनरावेदन गरेको हो।
उक्त प्रकरणमा आयोगले २०८० माघ २५ गते २४९ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर २०८१ पुस २५ गते विशेष अदालतबाट आंशिक सफाइ दिइएपछि आयोगले फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै बदर गरी दाबीअनुसार कारबाही हुनुपर्ने मागसहित पुनरावेदन गरेको जनाएको छ। आयोगका अनुसार नगर विकास ऐन, २०४५ र नगर विकास निर्देशिका, २०६१ विपरीत सरकारी सार्वजनिक जग्गा व्यक्तिगत स्वार्थ र मिलेमतोका आधारमा हस्तान्तरण गरिएको थियो।

