२७ वर्षपछि वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ



स्याङ्जा,पुस २ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वैदेशिक रोजगारी ठगी मुद्दामा २७ वर्षदेखि फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते फैसला सुनाएपछि फरार रहेकी पुतलीबजार नगरपालिका–९ निवासी ७० वर्षीया कृष्णकुमारी गुरुङलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। अदालतले गुरुङलाई वैदेशिक रोजगारी ठगी मुद्दामा दोषी ठहर गर्दै ९९ हजार १५० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।

प्रहरी निरीक्षक कमल नेपालीका अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अपरेसन टोलीले गुरुङलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। हाल उनलाई अदालतको फैसलाअनुसार जरिवाना भुक्तानको प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ।

लामो समयदेखि फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको भन्दै प्रहरीले आगामी दिनमा पनि यस्ता पुराना मुद्दामा फरार रहेकाहरूको खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्