एमाले ११ औँ महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
काठमाडौँ,पुस २ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरेर प्रक्रिया आरम्भ गर्नुभएको हो ।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका छन् । एमालेले २ हजार २६३ जना प्रतिनिधिका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरेको छ । अध्यक्षसहित अन्य पदका लागि समूहगत प्यानल बनाएर ओली र पोखरेल पक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसअघि मंगलबार बेलुकाबाट सुरु गर्ने भनिएको मतदान तयारी नपुगेका कारण आजका लागि सारिएको थियो । मतदान सुरु भएसँगै उम्मेदवारहरू प्रतिनिधिसँग मत माग्दै सक्रिय देखिएका छन् ।
आइतबार उम्मेदवारी दर्ता भए पनि प्यानलको अन्तिम टुंगो भने सोमबार मात्रै लागेको थियो । महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि केही लम्बिएको भए पनि आजबाट मतदान सुरु भएसँगै एमालेको नयाँ नेतृत्व चयन प्रक्रिया निर्णायक चरणमा पुगेको छ ।

