पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
कास्की,पुस २ । पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ। ऐतिहासिक अभिलेखका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यस वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन थालिएको हो। यसअघि फागुन २७ गते स्थापना दिवस मनाइँदै आएको थियो।
स्थापना दिवसका अवसरमा भाषा–साहित्य, कला, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सेवा, खेलकुद, पर्यटन, वातावरण, विज्ञान तथा प्रविधिलगायत क्षेत्रमा योगदान पुर्याएका नौ जनालाई ‘पोखरेली नवरत्न’बाट सम्मान गरिनेछ। उनीहरूलाई जनही नगद रु दुई लाख दुई हजार २०२ सहित ताम्रपत्र, दोसल्ला र पदक प्रदान गरिनेछ।
आज बिहान चिप्लेढुंगाबाट सांस्कृतिक झाँकीसहित प्रभातफेरी आयोजना भई पोखरा सभागृहमा मूल समारोह हुनेछ। समारोहमा उत्कृष्ट कर्मचारी, सरसफाइमा उत्कृष्ट वडा तथा कार्यालय, उत्कृष्ट करदातालगायतलाई सम्मान गरिनेछ। स्थापना दिवसका दिन महानगर तथा मातहतका कार्यालयहरूको नियमित सेवा बन्द रहने जनाइएको छ।

