एमाले महाधिवेशन निर्वाचन सुस्त



काठमाडौं,पुस २ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदानको गति सुस्त देखिएको छ। आज बिहान ९ बजेर २० मिनेटमा सुरु भएको मतदान दिउँसो ३ बजेसम्म आइपुग्दा जम्मा २६ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म करिब ६ सय जना प्रतिनिधिले मात्र मतदान गरेका छन्। मतदान यही गतिमा अघि बढेमा प्रक्रिया राति अबेरसम्म लम्बिन सक्ने अनुमान गरिएको छ। हाल पनि भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी रहेको आयोगले जानकारी दिएको छ।

एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि कुल ६४२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस निर्वाचनमा २ हजार २६३ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन्।

पार्टीको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्। दुवै पक्षका उम्मेदवार तथा समर्थकहरू मतदानस्थल वरपर मत माग्दै सक्रिय देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्